
विराटनगर । विराटनगरको ऐतिहासिक फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ आगामी चैत २८ गतेबाट सुरु हुने भएको छ । बैशाख ५ गतेसम्म हुने प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता जनाउने भएका छन् ।
आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलका क्रममा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झारखण्डको टोलीको सामना गर्ने छ ।
त्यसैगरी ट्रफीसहित ११ लाख रुपैयाँ हात पार्ने गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मुख्य प्रायोजन गरिरहेको गोल्डकपको दोस्रो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन विजेता तथा साविक उपविजेता चर्च ब्वाइजसँग स्पर्धा गर्ने छ ।
साविक विजेता थ्रीस्टार क्लबको अनुपस्थिति रहने गोल्डकपको तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने प्रवक्ता लामाले जानकारी दिए ।
सहिद मैदानमा हुने दिवारात्री खेलका लागि मैदान तयारीको काम भइरहेको छ । प्रवक्ता लामाका अनुसार गोल्डकपको प्रवर्द्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगर र राष्ट्रिय खेलकुद परिषद् छन् ।
२०१८ सालबाट सुरु भएको महेन्द्र गोल्डकप २०६७ र ०६८ सालपछि विराट गोल्डकपमा रूपान्तरण भएको हो । ट्रष्टले भने यस पटकबाट विराट गोल्डकपलाई पुरानै अवस्थाबाट अघि बढाउने गरी ३८ औं संस्करणका रूपमा गणना गर्ने जनाएको छ ।
गोल्डकपको अघिल्लो संस्करणमा थ्रिस्टारले चर्च ब्वाइजलाई २-० ले पराजित गर्दै समग्रमा दोस्रो पटक उपाधि जितेको थियो । थ्रिस्टारले गोल्डकपको पाँचौँ संस्करणमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

संगालोखबर 


















