
काठमाडौं । नापी विभागले देशभरका आफ्ना मातहतका कार्यालयहरूमा बिचौलिया प्रवेशलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्राचारपछि विभागले सबै नापी कार्यालयहरूलाई परिपत्र गर्दै सेवा प्रवाहलाई पारदर्शी र गुनासो रहित बनाउन निर्देशन दिएको हो ।
अबदेखि नापी कार्यालयमा प्रवेश गर्न चाहने जोसुकैले पनि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्ने व्यवस्था मिलाइएको छ । कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेश रोक्न र बिचौलियाको चलखेल अन्त्य गर्न परिचयपत्र हेरेर मात्र प्रवेश दिने प्रणाली कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले यो निर्देशन कार्यान्वयन भए वा नभएको बारे जुनसुकै बेला आकस्मिक अनुगमन गर्न सक्ने चेतावनी दिएको छ । अनुगमनका क्रममा निर्देशन पालना नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर्याइने मन्त्रालयको पत्रमा उल्लेख छ ।
नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले अनिवार्य रूपमा आफ्नो परिचयपत्र लगाउनुपर्नेछ । सेवाग्राहीहरूले पनि आवश्यक निवेदन वा कामसँग सम्बन्धित कागजात देखाएर मात्र कार्यालयभित्र प्रवेश पाउनेछन् ।

संगालोखबर 



















