
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको हो ।
यसै अनुसन्धानको सिलसिलामा प्रहरीले आज बिहान पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्कालाई नियन्त्रणमा लिएको छ । खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले आजै अदालतबाट म्याद लिने तयारी गरेको छ ।
गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीपछि पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको अवस्थामा मुद्राका टुक्राहरू भेटिएका थिए । पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम फेला परेको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले सोही समयमा ती रकमहरू संकलन गरी अनुसन्धानको दायरामा राखेको थियो । अनुसन्धानका लागि प्रमाण नष्ट हुन सक्ने भन्दै स्थानीय प्रशासनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ ।

संगालोखबर 



















