संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा आजदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । जैन भवनमा आयोजना गरिएको प्रदर्शनीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्‌घाटन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले घर निर्माणका सन्दर्भमा आम उपभोक्तालाई सही जानकारी दिन यस्ता कार्यक्रमले ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले प्रदेशमा व्यवस्थित प्रदर्शनी स्थल एक्स्पो सेन्टरको अभाव रहेको स्वीकार गर्दै त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।

Advertisement

आजबाट सुरु भएको प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तरक्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

५ दिनसम्म चल्ने प्रदर्शनीको ४ दिन फरक-फरक विषयमा विज्ञहरूसँग अन्तरक्रिया हुनेछ । आयोजकका अनुसार प्रदर्शनीमा चैत १३ गते सुरक्षित र सही निर्माण अन्तर्गत निर्माण सामग्रीको गुणस्तर, विद्युतीय सुरक्षा र अग्नि सुरक्षामा छलफल हुनेछ । चैत १४ गते स्मार्ट डिजाइन थिममा वास्तु शास्त्र र इन्टेरियर डिजाइनका विषयमा २ वटा सेसन सञ्चालन हुनेछन् ।

चैत १५ गते स्मार्ट घर र आधुनिक जीवनशैली अन्तर्गत होम अटोमेसन र सोलार प्रविधिबारे छलफल हुनेछ भने अन्तिम दिन चैत १६ गते घरको आयु बढाउने उपायहरू, छत चुहिने समस्याको समाधान, धमिरा नियन्त्रण र पुराना भवनको रेट्रोफिटिङबारे ३ वटा सेसन सञ्चालन गरिनेछ ।

कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यस किसिमको प्रदर्शनीमा सहभागीहरूले निर्माण क्षेत्रका विज्ञहरूसँग निःशुल्क परामर्श लिन पाउने संगठनका अध्यक्ष राठीले बताए ।

प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित ७० भन्दा बढी कम्पनीका स्टलहरू रहेका छन् । बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!