
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेता चयन भएसँगै बालेन देशको ४३ औं प्रधानमन्त्री बन्ने भएका छन् । पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव अघि सारेका थिए ।
उक्त प्रस्ताव केन्द्रीय समिति र संसदीय दल दुवै बैठकबाट एकमतले पारित भएको प्रवक्ता मनिष झाले बताए । बैठकले संसदीय दल गठनसम्बन्धी प्रस्तावसमेत अनुमोदन गर्दै आगामी सरकार गठनका लागि आवश्यक आन्तरिक तयारी अघि बढाउने निर्णय गरेको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । पार्टीभित्र चुनाब अघि नै शाहलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्री बनाउने सहमति बनेको थियो ।
शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । शपथ ग्रहणसँगै उनले नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन् ।

संगालोखबर 



















