
सुनसरी । मोरङसँगै सुनसरीमा पनि बर्डफ्लु संक्रमण फैलिएको छ । हालसम्म इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र गढी गाउँपालिकाका ८ वटा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।
ती फर्महरूमा भएका कुखुरा र अण्डा नष्ट गर्नुका साथै खोर सरसफाइको काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ । कार्यालयका अनुसार अनुसार इटहरी-१९ स्थित ओकेओ कृषि प्रालिमा ११ हजार २० कुखुरा र ११ हजार ३ सय अण्डा नष्ट गरिएको छ ।
गढी-५ को संजित कृषि फार्ममा ४२१, इटहरी-११ को आलम कृषि फार्ममा ५५०, इटहरी-१८ को रानी कृषि फार्ममा १ हजार ८१० लेयर्स र १२० गिरिराज कुखुरा नष्ट गरिएको कार्यालयले जनाएको छ ।
यस्तै इटहरी-१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा पनि नष्ट गरिएको छ । प्रभु कृषि फार्म, सुनसरी कृषि फार्म (दुहबी) र साझा ह्याचरीमा समेत संक्रमण पुष्टि भएको छ ।
संक्रमण फैलिन नदिन प्रशासनले प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाएको छ । बर्डफ्लु संक्रमण तीव्र फैलिएपछि कुखुरा पालक कृषकमा त्रास फैलिएको छ ।

संगालोखबर 



















