संगालोखबर


विराटनगर । नेपाल आयल निगमले आम उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । गत चैत १ गते रातिदेखि लागू हुने गरी मूल्य बढाएको निगमले त्यसको ११ दिन नबित्दै गएरातिदेखि लागू हुने गरी फेरि मूल्य बढाएको हो ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले छोटो समयमा नै दोस्रो पटक मूल्य वृद्धि गरेको हो । पछिल्लो निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १५-१५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।

Advertisement

यसअघि पेट्रोलमा १५ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ बढाइएको थियो । यसरी हेर्दा छोटो अवधिमै पेट्रोलमा प्रतिलिटर ३० रुपैयाँ तथा डिजेल र मट्टितेलमा २५ रुपैयाँसम्म मूल्य बढेको छ ।

नयाँ मूल्यसूची अनुसार पहिलो वर्गमा पर्ने विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा अब पेट्रोलको मूल्य प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

डिजेल र मट्टितेल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल १८६ तथा डिजेल र मट्टितेल १६६ रुपैयाँ पुगेको छ । तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम गरिएको छ ।

पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्य वृद्धिसँगै बजारमा दैनिक उपभोग्य वस्तुको महँगी बढ्ने निश्चित देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धनको मूल्य वृद्धिलाई कारण देखाउँदै तत्काल सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न सरकारसँग माग गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!