संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

Advertisement

आज दिउँसो विराटनगर-६ स्थित केशलिया खोलामा फोहोर फ्याँकिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ । महानगरका अनुसार खोलामा मिसाइने शौचालयजन्य फोहोरले हैजा, झाडापखाला लगायतका जलजन्य रोग फैलिने उच्च जोखिम सिर्जना गर्दछ ।

केशलिया खोलाको पानी स्थानीय कृषकले पशुपालन र सिंचाइमा समेत प्रयोग गर्ने भएकाले यसको असर गाई, भैंसी जस्ता पशुमा समेत पर्न सक्ने खतरा छ । यसअघि महानगरले सेफ्टीट्यांकी व्यवसायीहरूलाई बारम्बार सचेत गराउँदै खुला स्थानमा फोहोर नफाल्न निर्देशन दिएको थियो ।

महानगरका मेयर नागेश कोइरालाकै उपस्थितिमा व्यवसायीहरूसँग छलफल गरी विशेष गरी विराटनगर-१४ जतुवास्थित फोहोर पानी प्रशोधन केन्द्रमा मात्रै शौचालयजन्य फोहोर विसर्जन गर्ने सहमति भएको थियो ।

तर केही व्यवसायीले उक्त निर्देशन अवज्ञा गर्दै अवैध रूपमा फोहोर फाल्ने कार्य जारी राखेपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो । महानगरले नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई जरिवाना तथा अन्य कारबाही गरिने महानगरले जनाएको छ ।

साथै वातावरणीय मापदण्ड पालना नगर्ने व्यवसायीको इजाजतसमेत खारेज गर्न सकिने महानगरले चेतावनी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!