
विराटनगर । मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ । आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन् ।
पर्वको मुख्य दिन आज साँझ व्रतालुले आ-आफ्ना घरमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री फलफूल तथा अन्य सामग्रीका साथ विभिन्न भक्ति एवं लोकगीत गाउँदै व्रतालुहरू छठ घाटसम्म पुग्नेछन् ।
आज साँझ व्रतालुहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यस पर्वको पहिलो दिन आइतबार व्रतालुले ‘नहा खा’ अर्थात नुहाएर चोखो खाने काम गरेका थिए भने दोस्रो दिन सोमबार व्रतालुले आ-आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई निम्तो दिँदै खरना पर्व मनाएका थिए ।
खर्नाका दिन व्रतालुले दिनभरि निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरी अरवा अरबाइन खानेकुरा खाएका थिए । आज षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मुख्य पूजा मनाइँदैछ भने भोलि बुधबार चौथो एवं अन्तिम दिन एकाबिहानै जलाशयमा पसेर प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुनेछ ।

संगालोखबर 


















