
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटका ४९ वर्षी श्रवणकुमार सहनी पक्राउ परेका छन् । आफ्नै बुबाको हत्या गरेर फरार भएका उनलाई डेढ महिनापछि प्रहरीले पक्राउ गरेको हो । उनलाई आज झापाको गौरीगन्ज गाउँपालिका-६ देवीगन्जबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय शत्रुधन सहनीलाई लछारपछार पार्दै कुटपिट गरेका थिए ।
छोराको आक्रमणबाट गम्भीर घाइते भएका शत्रुधनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकोमा उपचार सम्भव नभएपछि घर लगिएको थियो । शत्रुधनको आफ्नै घरमा फागुन २८ गते मृत्यु भएको डीएसपी लामिछानेले बताए ।
प्रहरीले श्रवणकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी थालेको छ । उनीविरुद्ध आइतबार म्याद थप गरिने मोरङ प्रहरीले जनाएको छ ।

संगालोखबर 

















