
धनकुटा । जल तथा मौसम विज्ञान विभागले शनिबार तीव्र हावाहुरी आउनसक्ने चेतावनी दिएपछि धनकुटामा उच्च सतर्कता अपनाइएको छ ।
हावाको गति प्रतिघण्टा ११९ किलोमिटरसम्मको हुनसक्ने तथा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको अनुमानपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
सशस्त्र प्रहरीले बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरु गरेको छ । गुल्मपति प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलका अनुसार धनकुटा बजारसँगै मूलघाटस्थित बेस क्याम्पबाट समेत सूचना प्रवाहका लागि टोली परिचालन गरिएको छ ।
हावाहुरी र चट्याङबाट सुरक्षित रहन अनावश्यक रूपमा घरबाट बाहिर ननिक्लिन सशस्त्रले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेको छ । यस्तै सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन सचेत गराइएको छ ।


संगालोखबर 
















