
विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा पहिलो पटक घर निर्माण प्रदर्शनी आयोजना गर्ने भएको छ । संगठनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र १२ गतेदेखि १६ गतेसम्म विराटनगरको जैन भवनमा प्रदर्शनी हुने जानकारी दिएको हो ।
‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीले निर्माण क्षेत्रको इकोसिस्टम विकास गर्दै स्वदेशी उत्पादन र सेवाहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित ७५ भन्दा बढी स्टलहरू रहनेछन् । जहाँ निर्माणका कच्चा पदार्थदेखि आन्तरिक सजावटका सामग्रीसम्म प्रदर्शन गरिने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।
विशेषगरी वास्तुकला, संरचनात्मक इन्जिनियरिङ, सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, स्यानिटरी, विद्युतीय उपकरण, स्मार्ट होम प्रविधि, फर्निचर तथा बैंक र बीमा कम्पनीका वित्तीय सेवाहरू एकै थलोमा उपलब्ध हुने उनको भनाइ छ ।
संगठनले व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि उपभोक्ता नेटवर्किङलाई प्राथमिकता दिँदै निर्माण मूल्य शृंखलामा संलग्न उत्पादक, डिजाइनर, नीति निर्माता र उपभोक्ताहरूलाई एउटै छानामुनि एकत्रित गर्ने योजना बनाएको उनले बताए ।
मुख्य आकर्षणका रूपमा दैनिक दुई घण्टा चल्ने विशेष प्राविधिक सत्रहरू रहने प्रर्दशनीका संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिए । भूकम्प प्रतिरोधी मापदण्ड, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता, अग्नि सुरक्षा, वास्तुशास्त्र, इन्टेरियर डिजाइन, होम अटोमेसन, सौर्य ऊर्जा प्रणाली तथा भवनको आयु वृद्धिका लागि ओस र धमिरा नियन्त्रण जस्ता विषयमा विशेषज्ञहरूले प्रस्तुति दिनेछन् ।
बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म हुने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीले आधुनिक निर्माण अभ्यास र गुणस्तरबारे जनचेतना जगाउँदै नेपाली निर्माण क्षेत्रलाई दिगो र आधुनिक दिशातर्फ डोर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

संगालोखबर 

















