
विराटनगर । आँउदो शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका लागि सुजन थपलियाको कप्तानीमा कोशी प्रदेशको टोली घोषणा गरिएको छ । थपलियाको कप्तानीमा १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोली घोषणा भएको हो ।
अंकित सुवेदीलाई कप्तानीबाट विश्राम दिदैँ झापाका थपलियालाई कप्तानीको जिम्मेवारी दिइएको कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेले जानकारी दिए ।
झापाबाट ६, मोरङबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १ जना खेलाडीले टोलीमा स्थान पाएका छन् । थपलियाको कप्तानीमा टोलीले सुखद नतिजा ल्याउने अपेक्षा गरिएको पाण्डेले बताए ।
प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधानले पाएका छन् । व्यवस्थापकमा शशिशेखर झा र फिजियोको जिम्मेवारी विपिन भट्टराईलाई दिइएको छ ।
टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दाेष अन्सारी, दिपेश कडेल, प्रेम कामत छन् । यस्तै झापाबाट थपलिया बाहेक समिर कार्की, अंकित सुवेदी, ज्ञानेन्द्र श्रेष्ठ, आसिक राना मगर र विपिन महतो छन् ।
सुनसरीबाट रोहन साह, इलामबाट शिवांस बजगाईं तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङखिम र सुमन श्रेष्ठ चयन भएका छन् । बागमती र मधेश प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले ९ खेल खेल्नेछ । कुल ४६ वटा खेल हुने प्रतियोगिताको उपाधि भिडन्त बैशाख ४ गते वीरगञ्जमा हुनेछ ।
प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संगालोखबर 

















