
धनकुटा । धनकुटामा सोमबार राति वर्षासँगै आएको भीषण हावाहुरीका कारण ठुलो भौतिक क्षति भएको छ । हावाहुरीका कारण निजी घर तथा सरकारी कार्यालयमा अन्दाजी २५ लाख बढीको क्षति भएको हो ।
क्षतिको प्रारम्भिक विवरण अनुसार दुईवटा सरकारी कार्यालयहरू (आयुर्वेद र उच्च सरकारी वकिलको कार्यालय) मा १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै निजामती आधारभूत विद्यालयमा ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
व्यक्तिगत घरमा ५ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । थप क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीले सरकारी कार्यालय, विद्यालय र व्यक्तिगत घरहरूमा क्षति पुर्याएको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण कोशी लोकमार्गका विभिन्न स्थानमा रुखहरू ढलेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीसहितको टोलीले तत्काल रुखहरू हटाएर सवारी आवागमन सुचारु गराएको थियो ।

संगालोखबर 















