
विराटनगर । विराटनगरस्थित सिटिजन्स बैंकको कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटनामा बैंकले पाँच कर्मचारीलाई कारबाहीको दायरामा ल्याएको छ ।
निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरेको अभियोगमा बैंकले तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेललाई सेवाबाट बर्खास्त गरेको छ ।
यस्तै शाखा प्रबन्धक अभिषेक अग्रवालसहित चार जनालाई निलम्बन गरेको छ । बर्खास्त गरिएकी कँडेलविरुद्ध बैंकले जिल्ला प्रहरी कार्यालय मोरङमा बैंकिङ कसुरको उजुरी समेत दर्ता गराएको छ ।
बैंकको आन्तरिक छानबिनका क्रममा कर्मचारीहरूले आफ्नै ‘युजर आइडी’ प्रयोग गरी कीर्ते कारोबार गरेको फेला परेको छ । छानबिन प्रतिवेदन अनुसार शाखा प्रबन्धक अभिषेक अग्रवाल (आइडी ४७२), सहायक प्रबन्धक जोसेफ आचार्य (आइडी ९३२), रोजी कँडेल (आइडी २२७४) र सोनिका राउत (आइडी २८७) को युजर आइडीबाट रकम निकालिएको देखिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलका अनुसार दुई महिनाअघि केन्द्रबाट खटिएको विशेष टोलीले छानबिन गरेको थियो । मुख्य आरोपित कँडेलले सुरुमा हिनामिना भएको रकम १५ दिनभित्र फिर्ता गर्ने कागज गरे पनि तोकिएको समयमा रकम नबुझाएपछि बैंक कानुनी प्रक्रियामा जान बाध्य भएको हो ।
अन्य कर्मचारीहरूले पनि आफ्नो युजर आइडीबाट भएका कारोबारबारे सन्तोषजनक जवाफ दिन नसकेकाले उनीहरूलाई अनुसन्धानको घेरामा राखिएको बैंकले जनाएको छ ।
मोरङ प्रहरीले बैंकको अडिट रिपोर्ट अध्ययन भइरहेको र दोषी देखिएका सबैमाथि कडा कानुनी कारबाही अघि बढाइने बताएको छ ।

संगालोखबर 















