
विराटनगर । विराटनगर-१८ स्थित आईसीपी सडक खण्डबाट प्रहरीले बिल विजकभन्दा बढी र न्यून मूल्याङ्कन गरिएका सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ जीबी ७६४३ नम्बरको भारतीय नम्बरको ट्रकलाई चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटर्स पार्टस र सोफा सेटहरू बिल विजकमा उल्लेख भएभन्दा बढी परिमाणमा रहेको र सामानको न्यून मूल्याङ्कन समेत गरी भन्सार छल्न खोजिएको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
उक्त सामान अन्दाजी ४५ लाख ६३ हजार ६१८ रुपैयाँ बराबरको रहेको उनको भनाइ छ । सामानसहितको ट्रकलाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 















