
विराटनगर । मोरङको सुन्दरहरैँचा-१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले आफ्नो ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धिलाई उजागर गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूद्वारा निर्मित विभिन्न परियोजनाको प्रदर्शनी गरिनुका साथै गायन, नृत्य, वक्तृत्वकला र चित्रकला विधामा ‘स्टुडेन्ट्स आइडल’ प्रतियोगिता आयोजना गरिएको थियो ।
सो अवसरमा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने र ४ जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई विशेष पदक तथा प्रशंसापत्रद्वारा सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले शिक्षाको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
उक्त कोषबाट यस वर्ष चार जना जेहनदार विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार वितरण विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेत र दाताका बुबा गोविन्द श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
प्रिन्सिपल अर्जुन बस्नेतले सिद्धार्थ सेकेन्डरी स्कुलले सधैँ संस्कार, अनुशासन र प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए । उनले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई अझ आधुनिक र उत्कृष्ट बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

संगालोखबर 















