
धनकुटा । नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजिनामा दिएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता कोइरालाले पदबाट राजीनामा दिएका हुन् ।
कोइरालाले पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन् । २०८२ फागुन ३० गतेदेखि लागुहुनेगरि पद त्याग गरेको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
पार्टीले निर्वाचनलाई सङ्घर्षको मोर्चाको रूपमा उपयोग गर्ने नीतिअनुसार २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पार्टीले भ्रष्टाचारविरुद्ध कारबाही, राष्ट्रिय स्वाधीनताको रक्षा र एमसीसी खारेजजस्ता एजेन्डासहित निर्वाचनमा भाग लिएको उनको भनाइ छ । यस्तै शिक्षा, स्वास्थ्य, विद्युत र पिउने पानी निःशुल्क गर्ने तथा अग्राधिकारसहितको समाजवादी संघीयता स्थापना गर्ने कार्यक्रम लिएर जनतामाझ पुगे पनि अपेक्षित मत प्राप्त हुन नसकेको उनले उल्लेख गरेका छन् ।
जनतामाझ केही प्रभाव भए पनि आंशिक मत मात्र प्राप्त भएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी लिँदै पदमा बसिरहन उचित नहुने ठहर गर्दै राजीनामा दिएको उनले बताए । कोइराला नेकपा (माओवादी) को केन्द्रीय सदस्य समेत थिए ।

संगालोखबर 













