
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ-६ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी खर्च विवरण बुझाएका छन् । निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार कोइरालाले निर्वाचनमा २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेका छन् ।
उनले प्रचार-प्रसार सामग्री छपाइमा १६ लाख ४६ हजार ६०९ रुपैयाँ १९ पैसा खर्च भएको विवरण बुझाएका छन् । यस्तै स्टेसनरी खर्च १ लाख ४ हजार ५ सय, प्रचार-प्रसारमा १ लाख १३ हजार र टेन्टमा ४० हजार खर्च भएको उल्लेख गरिएको छ ।
यातायातमा ७९ हजार, इन्धनमा १ लाख १६ हजार ३१९ रुपैयाँ ५० पैसा, खाना/खाजामा ९६ हजार ६६० र ३५ हजार आवश्यकता अनुसारको सामानमा खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
मोरङ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य ५५ हजार ५१३ मत ल्याएर निर्वाचित हुँदा कोइराला १२ हजार ८५० मत प्राप्त गर्दै दोस्रो भएका थिए ।

संगालोखबर 















