संगालोखबर


विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा ठूलो सङ्ख्यामा मत बदर भएको छ । लामो समय लाइन बसेर मतदाताले खसालेको १ लाख ३० हजारभन्दा बढी मत गणनाका क्रममा बदर पाइएको हो ।

यसले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा कुल २० लाख ८४ हजार २१९ मत खसेको थियो ।

जसमध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको छ भने १ लाख ३० हजार ८४७ ( लगभग ६.२७ प्रतिशत) मत बदर भएको छ । मतदाताले स्वस्तिक छाप स्पष्ट नलगाउनु, एकभन्दा बढी चिह्नमा छाप लगाउनु र मतपत्रको गलत ठाउँमा छाप लगाउनु जस्ता प्राविधिक त्रुटिका कारण यति ठूलो सङ्ख्यामा मत खेर गएको हो ।

मोरङ जिल्लामा बदर मतको अवस्था डरलाग्दो देखिएको छ । मोरङ-५ मा सबैभन्दा बढी ७ हजार ८८९ मत बदर भएको छ । मोरङ-१ मा ४ हजार ८३७, २ मा ६ हजार ५०, ३ मा ६ हजार ८२७, ४ मा ५ हजार २५६ र ६ मा ५ हजार ६४४ मत बदर भएको छ ।

यस्तै सुनसरी क्षेत्र नम्बर १ मा ४ हजार ४८९, २ मा  ६ हजार २२९, ३ मा ५ हजार ६११ र ४ मा ६ हजार ६७४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

झापा-५ मा  प्रदेशकै सबैभन्दा कम ४ हजार २१९ मत बदर भएको छ । झापा क्षेत्र नम्बर १ मा ४ हजार २६९, २ मा ४ हजार ४६९, ३ मा ५ हजार ६२९ र ४ मा ४ हजार ७६८ मत बदर भएको तथ्याङ्क छ ।

यसैगरी ताप्लेजुङमा २ हजार ६८६, तेह्रथुममा १ हजार ९०९, पाँचथरमा ३ हजार ८९७, भोजपुरमा ३ हजार ८७१ र इलाम (१ र २) मा ८ हजार ४६१ मत बदर भएको छ ।  धनकुटामा ४ हजार ८८३, संखुवासभामा ३ हजार ७८० सोलुखुम्बुमा १ हजार ९९०,  खोटाङमा ३ हजार ९२८, ओखलढुंगामा ३ हजार ३५६ र उदयपुर (१ र २) मा ९ हजार २२० मत बदर भएको छ ।

निर्वाचन आयोगले मतदानअघि वडा-वडामा स्वयंसेविका र कर्मचारी परिचालन गरी मतदाता शिक्षा सञ्चालन गरेको दाबी गरे पनि प्रभावकारी नभएको यसबाट पुष्टि हुन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!