संगालोखबर


विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूलाई बिजनेस (व्यापार), शिक्षा र स्वास्थ्य गरी तीनवटा प्रमुख विधामा विभाजन गरेर प्रोजेक्ट वर्क गराइएको सयपत्री ग्रुपका डाइरेक्टर श्याम कृष्ण गुप्ताले जानकारी दिए ।

तालिममा सहभागी २२ विद्यार्थी समूहमध्ये उत्कृष्ट ९ वटा समूह फाइनल चरणमा पुग्न सफल भएका छन् । सहभागी समूहहरूमा २ देखि ६ जनासम्म विद्यार्थीहरू थिए । हरेक विधाबाट एक-एक वटा विजेता समूह घोषणा गरिने र उनीहरूलाई २५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तालिमको प्रशिक्षकमा अनिष दाहाल, श्याम कृष्ण गुप्ता र रबिन पौडेल थिए भने निर्णायकको भूमिका इन्जिनियर अभय कर्ण र इन्जिनियर विकास गुप्ताले निभाएका थिए ।

कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधिमा पनि दक्ष बनाउन यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!