
धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एउटा मात्रै क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका राजेन्द्र राई निर्वाचित भएका छन् । राई १८ हजार १३२ मत ल्याएर निर्वाचित भएका हुन् ।
एमाले गढ मानिने धनकुटामा राई २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि विजयी भएका थिए । यसपटकको निर्वाचनमा पनि राई ३ हजार ८७५ मतान्तरले विजयी भएका हुन् । एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका राईका प्रतिस्पर्धी नेपाली काँग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ९ हजार ९४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले १ हजार ६६५ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिभत्सु थापाले ७०३, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बुले ४३२, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मीले २२, मंगोल नेशनल अर्गनाइजेसनका सागर राईले ८२ र राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले २२१ मत प्राप्त गरे ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविन कुमार राईले १३२, जनता समाजवादी पार्टीका निशान राईले २३८ र आम जनता पार्टीका प्रेम बहादुर थापाले ५५ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवारहरू जितेन्द्र राईले ९१, मन कुमार योञ्जनले ५६ र लाक्पा तामाङले १ हजार १८१ मत पाएका छन् । धनकुटामा जम्मा १ लाख १८ हजार ४२५ मतदाता रहेकामा ६४ हजार ९१ मत खसेको थियो । जसमा कुल सदर मत ५९ हजार २०८ छ भने ४ हजार ८८३ मत बदर भएको छ ।

संगालोखबर 















