संगालोखबर


विराटनगर । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका ६ वटै क्षेत्रमा फराकिलो मतान्तरले जित हासिल गरेको छ ।

अन्तिम मत परिणाम अनुसार मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत ल्याइन् ।

मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरे ।

मोरङ–३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा शर्माले २४ हजार ३ सय ५४ मत पाए भने श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरे ।

मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई उनले २८ हजार १५ मतान्तरले पराजित गरे । घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे ।

मोरङ–५ मा रास्वपाकी आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे ।

मोरङ–६ मा रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे ।

२०७९ सालको निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट काँग्रेसका डिगबहादुर लिम्बु, २ बाट एमालेका ऋषिकेश पोखरेल र ३ बाट काँग्रेसका सुनिल शर्मा निर्वाचित भएका थिए । यस्तै क्षेत्र नम्बर ४ बाट नेकपा उम्मेदवार अमनलाल मोदी, क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र नम्बर ६ बाट काँग्रेस नेता डाक्टर शेखर कोइराला विजयी भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!