संगालोखबर


इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विकास निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई डोरीले नभई कानुनको दायरामा बाँधेर काम गराउने नीति लिएको बताएका छन् ।

आज इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो नीति ठेकेदारलाई डोरीले बाँध्ने होइन, कानुनले बाँध्ने हो । कानुनभन्दा माथि कोही पनि छैन, त्यसैले कानुनको पूर्ण पालना गराउँछौँ ।’

Advertisement

यसअघि धनगढीको चुनावी सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ठेकेदारलाई रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्ने धारणा राखेका थिए । बालेनको उक्त अभिव्यक्तिप्रति नेपाली काँग्रेसका महामन्त्री गगन थापाले असहमति जनाउँदै ठेकेदारलाई रुखमा बाँधेर समस्या समाधान नहुने र त्यसका लागि २० वटा कानुन संशोधन गर्नुपर्ने तर्क गरेका थिए ।

थापाको सोही भनाइलाई लक्षित गर्दै लामिछानेले कटाक्ष गरेका छन् । उनले भने, ‘कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल तपाईंलाई आयो ? यत्तिका वर्ष शासन सत्तामा रहँदा तपाईंले के गर्नुभयो ?’

सभापति लामिछानेले निर्माण व्यवसायीहरूलाई व्यर्थको विज्ञप्तिबाजीमा नलागी काममा केन्द्रित हुन आग्रह गरेका छन् । रास्वपाविरुद्ध विज्ञप्ति निकाल्नुको साटो समयमै सडक र पूर्वाधार निर्माण गर्न उनले व्यवसायीलाई चेतावनी दिए ।

‘विज्ञप्तिबाजी गरेर देश बन्दैन । अब दुई सिफ्ट होस् वा तीन सिफ्ट, काम गर्नुहोस्’, उनले भने, ‘यदि काम गर्न ठूला उपकरणको अभाव छ भने खरिद गर्नुहोस्, तर देश निर्माणको काममा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!