
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगर महानगर समितिको आयोजनामा पेडागोजीकल लिडरसिप (शैक्षिक नेतृत्व) विषयमा कार्यक्रम भएको छ ।
ईसीईसी नेपाल इटहरीको प्राविधिक सहयोगमा एकदिने क्षमता अभिवृद्धि कार्यक्रम भएको हो । ईसीईसीका प्रबन्धक निर्देशक पीताम्बर न्यौपानेले आधुनिक शिक्षण प्रणाली तथा शिक्षण सिकाइ प्रभावकारिता, शैक्षिक वातावरण सुधार लगायतका विषयमा सहभागी प्रिन्सिपलहरूलाई सहजीकरण गरेका थिए ।
कार्यक्रममा विराटनगरका ३१ जना प्रिन्सिपलहरूले सहभागिता जनाएका थिए । वर्तमान अवस्थामा शिक्षण विधिलाई प्रभावकारी बनाउँदै सीपमूलक, गुणस्तरीय र प्रविधिमैत्री शिक्षालाई उत्कृष्ट बनाउने विषयमा छलफल भएको थियो ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिँदै विश्व प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
तालिमका संयोजक तथा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाले शिक्षक-कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा यस प्रकारका तालिम प्रदान गरिने बताए ।
विद्यालयहरूमा देखा परेका समस्या तथा चुनौतीहरू समाधान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्याब्सन विराटनगरले जनाएको छ ।

संगालोखबर 














