
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मोरङमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतदानस्थल र मतदान केन्द्रको संयुक्त रूपमा स्थलगत अनुगमन एवं निरीक्षण तीव्र पारिएको छ । मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएका छन् ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयलगायतका सरोकारवाला निकायबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्दै दैनिक रूपमा जिल्लाका विभिन्न मतदानस्थल र केन्द्रहरूको स्थलगत अनुगमन भइरहेको हो ।
मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङको नेतृत्वमा अनुगमन एवं निरीक्षण भइरहेको छ । अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाली सेनाका प्रमुख सेनानी अनिल बस्नेत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी राजन शर्मा लगायत छन् ।
अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको सुरक्षा अवस्था, भौतिक पूर्वाधार, पहुँचमार्ग, सञ्चार सुविधा तथा आकस्मिक अवस्थाको तयारीका बारेमा विस्तृत अनुगमन भइरहेको एसपी कटवालले बताए ।
मोरङमा हालसम्म क्षेत्र नम्बर २, ३, ४, ५ र ६ का मतदानस्थल र केन्द्रको अनुगमन भइसकेको छ । क्षेत्र नम्बर १ का मतदान केन्द्रको अनुगमन जारी छ । उत्तरी मोरङका दुर्गम तथा भौगोलिक दृष्टिले चुनौतीपूर्ण मतदान केन्द्रहरूको अनुगमनका लागि आज टोली जाँदैछ ।
अनुगमनका क्रममा मतदान केन्द्रमा आवश्यक पर्ने सुरक्षित भवन, शौचालय, खानेपानी, अपाङ्गमैत्री पहुँच, मतदान कक्षको गोपनीयता, सुरक्षाकर्मीको तैनाथी तथा भिड व्यवस्थापनको तयारीको अवस्था लगायत न्यूनतम पूर्वाधारका बारेमा बुझ्ने काम भइरहेको एसपी कटवालले बताए ।

संगालोखबर 














