
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगीबाट पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा-३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो । लिम्बूको घरमा खानतलासी गर्दा मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र दुई थान हेण्डसेट फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए । त्यसपछि गुरुङलाई पनि पक्राउ गरिएको डीएसपी चौधरीले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 














