
धनकुटा । सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा समस्या बढ्दै गएको धनकुटाका पत्रकारहरूले बताएका छन् । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा आज धनकुटा शाखाले आयोजना गरेको कार्यक्रममा पत्रकारले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालको दुरुपयोगले सूचना र समाचारको विश्वसनीयता घट्दै गएको उनीहरूको भनाइ छ । त्यसका लागि सामाजिक सञ्जाल व्यवस्थित गरिनु पर्नेमा उनीहरूले जोड दिए ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, चौतारीका पूर्व केन्द्रीय सदस्यद्वय सिद्धराज राई, रमेशचन्द्र अधिकारी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल बराइली, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय खगेन्द्र घिमिरे र नगेन्द्र राई, चौतारी धनकुटाका अध्यक्ष नारायणकुमार राई लगायतले धारणा राखेका थिए ।
कुनै पनि सूचना बाहिर ल्याउँदा सत्यतथ्य हुनुपर्ने र त्यसका लागि विश्वसनीय स्रोत आवश्यक पर्नेमा उनीहरूले जोड दिए । उनीहरूले आधिकारिक सञ्चारमाध्यमले मात्र विश्वसनीयता दिलाउने हुँदा त्यसलाई आधार मान्नुपर्ने बताए ।

संगालोखबर 














