
विराटनगर । मोरङको रंगेली नगरपालिका-५ बहुवनमा पत्नीको हत्यापछि पतिले आत्महत्या गरेका छन् । आज बिहानको राति २ः४५ बजेतिर अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली घरमा पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।
मोरङ प्रहरीका डीएसपी लिलाराज लामिछानेका अनुसार मुकेश सोमबार बेलुका ससुराली गएका थिए । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नीलाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले त्यही चक्कुले आफ्नो घाँटी रेटेको खुलेको छ ।
मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ ।

संगालोखबर 













