
धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले फागुन २१ गते हुन लागेको निर्वाचनमा कोशीमा सुरक्षा चुनौति बढेको बताएका छन् । धनकुटा आएका उनले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढाएको बताएका हुन् ।
कोशीमा निर्वाचन केन्द्रित विषेश सुरक्षा रणनीतिका साथ होसियारी पूर्वक काम भइरहेको उनको भनाइ छ । ‘प्रदेश सरकारको नोटिसमा छ । सोही अनुसार व्यवस्थापन योजना तयार पारेर कार्यान्वयन गर्दछौँ’, उनले भने ।
निर्वाचन बहिष्कार गर्ने र नचाहने शक्तिहरूको यस्ता काममा बढी भूमिका हुने बताउँदै मन्त्री पराजुलीले त्यो सबैलाई थाहा भएको उल्लेख गरे । नयाँ र पुरानाका नाममा भइरहेको निषेधको राजनीतिले पनि गम्भीर सुरक्षा चुनौति निम्त्याउने उनले बताए ।
निर्वाचन लक्षित सभा, भेटघाट, घरदैलो र सामाजिक सञ्जालमा समेत नयाँ र पुरानाका नाममा गैरराजनितिक र निषेधलाई बल पुग्ने गतिविधि भइरहेकोले त्यसले खतरा निम्तिन सक्ने उनको बुझाइ छ ।
गत भदौ २३ र २४ पछिका घटनाक्रमले पनि परिस्थिति सहज नभएको भन्दै उनले नयाँ र पुरानाका नाममा चलिरहेको निषेधको राजनीतिले आन्तरिक सुरक्षामा थप चुनौती थपेको जिकिर गरे ।
कोशी प्रदेशमा झापा–२ र ५ मा सुरक्षाको जोखिम विश्लेषण गरेर सोही अनुरूपको सुरक्षा व्यवस्थापन प्रदेश सरकारले गरिरहेको उनले बताए । कोशी प्रदेश सुरक्षा समन्वय बैठक र राष्ट्रिय सुरक्षा परिषद्सँगको अन्तरक्रियामा पनि कोशी प्रदेशको निर्वाचन सुरक्षाबारे आफूले जानकारी गराएको उनले सुनाए ।

संगालोखबर 













