
विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गरेको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा राष्ट्र निर्माण माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयले उपाधि जितेका छन् ।
‘कृत्रिम बौद्धिकता (एआई) ले मानिसलाई नियन्त्रण गर्न सक्छ’ र ‘एआई मानिसको नियन्त्रणमै रहन्छ’ भन्ने विषयमा भएको प्रतियोगितामा २ विद्यालयले उपाधि हात पारेका हुन् ।
‘एआईले मानिसलाई नियन्त्रण गर्न सक्छ’ भन्ने पक्षबाट राष्ट्र निर्माण माविकी कृतिका बानियाँ प्रथम भएकी छन् । सोही पक्षबाट सुबिजीमुर एकेडेमीकी मनिषा थापा द्वितीय र नेपाल आदर्शकी आयुषी सुवेदी तृतीय भइन् ।
विपक्ष समूहबाट सुकुना माविकी दिपशिखा खनाल प्रथम, सत्यनारायण माध्यमिक विद्यालयकी आरती अधिकारी द्वितीय र रमाइलो बाल जगतका रिवाश कार्की तृतीय भए ।
दुबै समूहबाट प्रथम हुनेलाई ५१ हजार, द्वितीय हुनेलाई ३१ हजार र तृतीय हुनेलाई २१ हजार नगदसहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको फाउन्डेसनका महासचिव रिता न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा ४० बढी विद्यालयका प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए ।

संगालोखबर 













