
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा भएको हिसान स्पोर्ट्स मिटअन्तरगत क्रिकेटको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ ।
जुट मिलको खेल मैदान भएको फाइनल खेलमा शिक्षादीप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुरले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रनको विशाल योगफल तयार पारेको थियो ।
शिक्षादीपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१, शिवम झाले १९ र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधीर कामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।
कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घोषित समेत भए । शिक्षादीपका रोहनकुमार रायले २ विकेट लिँदा सुदीप यादवले पनि २ विकेट लिए ।

संगालोखबर 













