
विराटनगर । झापा प्रथम कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम लिगमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सुनसरीका रविन मण्डलले ४१ रन बनाउँदा आकाश सर्राफले ३८ रनको योगदान दिए ।
झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँदा कप्तान सुजन थपलिया, विपिन महतो र आयुश न्यौपानेले १–१ विकेट लिए । १ सय ८४ रनको सामान्य लक्ष्य पाएको झापाले ४७ ओभरमा ६ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको थियो ।
झापाले २ खेल १ मा जित निकाल्दै २ अंकका साथ दोस्रो स्थानमा छ । सुनसरी दुई वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । झापा र सुनसरी नै पराजित गरेको मोरङ ४ अंकका शीर्ष स्थानमा उक्लँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

संगालोखबर 













