
विराटनगर । कोशी प्रदेश सरकारले आगामी प्रदेश सभाको अधिवेशनबाट प्रदेश आमसञ्चार विधेयक अघि बढाउने तयारी गरेको छ । प्रदेश सभाको अघिल्लो अधिवेशनबाटै पारित गर्न खोजिएको उक्त विधेयकका केही व्यवस्थाप्रति पत्रकारहरूले विरोध जनाएपछि रोकिएको विधेयक पुनः अघि बढाउने तयारी थालिएको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा आमसञ्चारसम्बन्धी विधेयक पारित गरिने बताएका हुन् ।
मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा सञ्चारकर्मीहरूसँग भएको छलफलमा मन्त्री पराजुलीले सरकारले पत्रकारहरूले उठाएका असहमतिका विषयमा छलफल गर्न तयार रहेको बताए ।
यसअघि नेपाल पत्रकार महासंघसहितका सरोकारवाला संस्थाहरूले विधेयक संविधानको मर्म र भावना विपरीत हुनुका साथै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने अभिप्रायले आएको ठहर गरी आन्दोलनमै उत्रिएका थिए ।
अन्तरक्रियामा बोल्दै मन्त्री पराजुलीले सञ्चार क्षेत्र व्यवस्थित, सुरक्षित र मर्यादित हुनुपर्ने बताए । उनले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको र संघीय शासन प्रणाली, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न समेत भूमिका निर्वाह गर्ने बताए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अन्तरक्रियापछि प्राप्त भएका सुझावहरूबारे मन्त्री पराजुलीलाई ध्यानाकर्षण गराएका छन् ।

संगालोखबर 













