संगालोखबर
फाइल तस्बिर

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले पटक-पटक सूचना प्रकाशन गर्दै इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिरहेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मोरङले हतियार बुझाउन आग्रह गरेको हो ।

तर प्रशासनको आग्रहलाई बेवास्ता गर्दै तोकिएको समयमा हतियार बुझाउन नआएको पाइएको छ ।  प्रशासनले हतियार बुझाउनका लागि भन्दै २ पटक सार्वजनिक सूचना निकाली सकेको छ ।

पहिलोपटक पुस २५ गते सार्वजनिक सूचना जारी गर्दै माघ १० गतेसम्म हतियार बुझाउने समयसीमा दिएको थियो । तर कसैले पनि हतियार नबुझाएपछि माघ १२ गते प्रशासनले अर्को सूचना जारी गरेको छ ।

सूचनामा निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि इजाजत प्राप्त सबै किसिमका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ । हतियार नबुझाएको खण्डमा कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

मोरङमा १ हजार ३७ वटा इजाजत प्राप्त हातहतियार रहेका मोरङ प्रशासनले जनाएको छ । जसमध्ये ५ वटा हतियार मात्रै प्राप्त भएको मोरङ प्रहरीले जनाएको छ ।

‘अहिलेसम्म ५ वटा हतियार मात्रै प्राप्त भएको छ’, मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले संगालोखबरसँग भने, ‘हिजोबाट हतियार बुझाउने क्रम बढेको छ । प्रहरीले घर–घरमै पुगेर हतियार उठाउन थालेको छ ।’ उनले निर्वाचनलाई भयरहित, सुरक्षित र मर्यादित बनाउन हतियार बुझाउन आग्रह गरिएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!