
विराटनगर । विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगरको मेरिलेबन क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमले सहभागिता जनाउने बताएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको सहभागिता रहने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिए ।
माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । माघ १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले नयाँ अवधारणा सहित एलाइट कपको आयोजना हुनु गौरवको विषय भएको बताए ।
क्रिकेट संघ मोरङ अध्यक्ष मोहम्मद सादबाबुले एलाइट कपका लागि मोरङको तयारी राम्रो रहेको जानकारी दिए । सोही अवसरमा क्रिकेटको प्रवर्द्धनका लागि कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसले कोशी प्रदेशको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेसनका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।

संगालोखबर 













