
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मोरङमा मनोनयन दर्ता गराएका १ सय १८ जनामध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा २ जना राजनीतिक दलका र ४ जना स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्रसाद दर्लामी र क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तिलकराम राजवंशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
स्वतन्त्रतर्फबाट मोरङ क्षेत्र नम्बर ३ का सुरेश लिम्बू, कञ्चन न्यौपाने र दलबहादुर थापा तथा क्षेत्र नम्बर ६ का राम खत्रीले उम्मेदवारी फिर्ता लिएका कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा ४ बमोजिम उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरूको नाम आधिकारिक सूचीबाट हटाइएको छ ।
यसअघि मोरङको क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीका विनोद परियार र क्षेत्र नम्बर ६ बाट जसपाका महमद जाविरको उम्मेदवारी रद्द भइसकेको छ ।
अब मोरङमा १ सय १० जना उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

संगालोखबर 













