
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा माघ १० गतेदेखि ‘हिसान मोरङ स्पोर्ट्स मिट’ सुरु हुने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १७ गतेसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा करिब ३२ हजार विद्यार्थी सहभागि हुने जनाएको हो ।
‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरका संस्थागत विद्यालय तथा कलेजमा अध्ययनरत करिब ३२ हजार विद्यार्थी सहभागि हुने जनाइएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला फुटबल, भलिबल, बास्केटबल, क्रिकेट पुरुष, कबड्डी, टेबल टेनिस सिङ्गल र डबल तथा एथलेटिक्स, लामो र छोटो दुरीको दौड विधामा प्रतिस्पर्धा हुने हिसान मोरङका महासचिव भुवन नेपालले जानकारी दिए ।
यस वर्ष फुटबलमा २४ टिम, भलिबलमा २० टिम र क्रिकेटमा १९ टिमको सहभागिता रहनेछ । विगतको तुलनामा यस वर्ष महिला फुटबल टोलीको संख्यामा ५० प्रतिशतले वृद्धि भएको छ ।
क्रिकेट खेल विराटनगरको जुटमिल स्थित क्रिकेट मैदानमा हुनेछ भने फुटबल सहिद रंगशालामा सञ्चालन हुनेछ । अन्य खेलहरू डीपीएस स्कुलमा सञ्चालन हुने जनाइएको छ ।
हिसान मोरङका अध्यक्ष अमित ढकालले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन कायम राख्न, स्वस्थ नागरिक उत्पादन गर्न र उनीहरूलाई लागूपदार्थको कुलतबाट बचाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

संगालोखबर 













