संगालोखबर


विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट तेस्रो लिङ्गी महिला नुमा लिम्बुले उम्मेदवारी दिएकी छन् । उनले समावेशी समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले जीवनको लामो समय सङ्घर्ष, बहिष्कार र पहिचानको लागि लडेको बताउँदै आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभएर पहिचानको लागि भएको बताइन् ।

‘लामो समय मैले देखेको, भोगेको र सिकेको अनुभवहरूले मलाई अझ बलियो बनाएको छ’, उनले भनिन्, ‘मेरो प्रतिनिधित्व कसैको विरुद्धमा होइन । यो हाम्रो समुदायको अधिकार र पहिचानको लागि हो ।’

उनले आफ्नो समुदायले इतिहासमा भोगेको असमानता र बहिष्कारको अन्त्य गर्ने र आफ्नो समुदायलाई लोकतन्त्रमा समान रूपमा समेट्ने मुख्य उद्देश्य रहेको बताइन् ।

सुनिल बाबु पन्त पहिलो संविधानसभामा पुगेपछि आजसम्म पनि आफ्नो समुदायबाट कोही संसदमा नपुगेको उनको भनाइ थियो ।उनले सबै राजनीतिज्ञ र पार्टी नेताहरूलाई मोरङ–४ मा आफूलाई समर्थन गर्न पनि आग्रह गरेकी छन् ।

‘तपाईँको सहयोग बिना हाम्रो समुदाय लोकतन्त्रमा समावेशी हुन सक्दैन’, उनले भनिन्, ‘तपाईँको समर्थनले मात्र हामी एकसाथ भई लोकतन्त्र र समावेशिताको बलियो आधार निर्माण गर्न सक्छौं ।’ उनले आफ्नो उम्मेदवारी पितृसत्तात्मक संरचनाविरुद्ध, समानता र न्यायको पक्षमा रहेको उल्लेख गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!