
विराटनगर । नेकपा एमालेले मोरङका ६ क्षेत्रमध्ये ४ क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार राती सम्पन्न एमाले केन्द्रिय सचिवालय बैठकले मोरङसहित देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको हो ।
मोरङ क्षेत्र नम्बर १ बाट एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको नाम टुङ्गो लागेको छ । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका थिए । २०७४ को निर्वाचनमा काँग्रेस नेता लिम्बुलाई खतिवडाले पराजित गरेका थिए ।
यस्तै क्षेत्र नम्बर २ मा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दिलीप बगडिया चुनाव लड्ने भएका छन् । उनी रंगेली नगरपालिकाका मेयर पनि हुन् । उनले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा रंगेलीको मेयरमा निर्वाचित भएका थिए ।
मोरङ क्षेत्र नम्बर ३ मा दिलीप राई चुनाव भिड्दै छन् । उनी पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगरप्रमुख हुन् । यो क्षेत्रमा यसअघि एमाले सचिव भानुभक्त ढकाल चुनाव लड्दै आएका थिए ।
यस्तै मोरङ क्षेत्र नम्बर ४ मा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम टुङ्गो लागेको छ । एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका घिमिरे कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन् ।
मोरङ क्षेत्र नम्बर ५ र ६ मा भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । एमाले मोरङ जिल्लाले क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको नाम सिफारिस गरेको थियो ।
यस्तै क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित, विनोद ढकाल, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी लगायतको नाम सिफारिस गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई क्षेत्रको उम्मेदवार टुङ्गो लगाउने छन् ।

संगालोखबर 













