
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी क्रिकेट लिगमा आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको छ ।
विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कटहरी क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको हो ।
टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीका लागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामिकका विवेक झाले २ विकेट लिँदा विकास कामत, एसएस झा र सुवास रायले १–१ विकेट लिए ।
जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पूरा गरेको थियो । डाइनामिकका रवि रायले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे ।
कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच डाइनामिकका विवेक झा घोषित भए ।

संगालोखबर 













