
विराटनगर । सनम शाक्यको अपहरण, शरीर बन्धक तथा ज्यान सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । ३३ किलो सुन प्रकरणसँग जोडिएको मुद्दाका फरार प्रतिवादी मकवानपुरका ३३ वर्षीय सुरेन्द्र गौतम पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार काठमाडौंमा पक्राउ परेका उनलाई मोरङ ल्याइएको छ । गौतमलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त समन्वयमा माघ १ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाइएको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
यो मुद्दा २०७४ फागुन ३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएको थियो । सञ्जीव शाक्यको जाहेरीले नेपाल सरकार वादी रहेको यस मुद्दामा ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६३ जनालाई प्रतिवादी बनाइएको थियो । गौतम सोही समयदेखि नै फरार सूचीमा रहेका थिए ।

संगालोखबर 













