
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा आजबाट सुरु भएको विराटनगर क्रिकेट लिगको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदान भएको खेलमा लायन क्रिकेट एकेडेमीलाई ६९ रनले पराजित गर्दै कटहरीले जित निकालेको हो ।
टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सस ६४ रन बनायो । कटहरीका लागि समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर्दै विस्फोटन ४० रन बनाउँदा आइसटेन रिजाल र अस्वीन कामतले ४०-४० रनको योगदान दिए । लायनका सन्दिप ढकाल, रुद्रप्रताप साह, रिदम सापकोटा र किथार्थ बस्नेतले १-१ विकेट लिए ।
जवाफमा १ सय ६५ रनको लक्ष्य पाएको लायनले १८ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ९५ रनमा सीमित भयो । लायनका सकिव हकले ३५ रन जोड्दा गौरभ कटवालले २७ रनको योगदान दिए । कटहरीका अस्विन महतले ३ विकेट लिँदा अस्विन कामतले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कटहरीका अस्विन कामत घोषित भए ।
फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगिताका मोरङका ८ वटा क्लबलाई दुई समुहमा विभाजन गरेर खेलाइएको छ ।

संगालोखबर 













