
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट किरण खड्काले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । बिहीबार भएको युवा तथा स्थानीय नागरिकहरूसँगको छलफलपछि खड्काले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
छलफलका क्रममा सहभागीहरूले आफ्ना समस्या, गुनासा र अपेक्षा राख्दा खड्काले ती विषयलाई प्रत्यक्ष रूपमा सुन्दै र त्यसप्रति आफ्नो धारणा राखेका थिए । सो क्रममा उनले पार्टीभन्दा माथि उठेर जनताको निर्भीक आवाज प्रतिनिधि सभामा पुर्याउने उद्देश्यका साथ स्वतन्त्र उम्मेदवारी दिने उल्लेख गरे ।
युवाहरूले रोजगारी, शिक्षा, कृषि र भविष्यका अवसरबारे प्रश्न उठाउँदा खड्काले यी सबै विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका थिए । उम्मेदवारी घोषणा कार्यक्रममा खड्काले राजनीतिक दलहरूले सबै निर्वाचन क्षेत्रमा जनताले खोजेजस्तो प्रतिनिधित्व दिन नसकेको बताए ।
विराटनगरका खड्का यातायात मजदुर र कृषक समुदायमा परिचित छन् । पछिल्लो समय उनको समूहले अन्यायविरुद्ध आवाज उठाउने, विराटनगर नहर सरसफाइ, वृक्षरोपण कार्यक्रम लगायतका अभियान सञ्चालन गरिरहेको छ ।
खड्काले बेरोजगारी, युवा पलायन, किसानको उत्पादनले उचित मूल्य नपाउनु, शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप तथा वृद्ध नागरिकको सामाजिक सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाउने उल्लेख गरे ।

संगालोखबर 













