
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङमा बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजकले उपाधि चुमेको हो ।
फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३-२५, २५-२२, २१-२५, २५-२१ र १५-७ को सेटमा हराएको छ । आयोजकले उपाधिसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपविजेता बनेको कोशी प्रदेश प्रहरीले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ । सर्वोत्कृष्ट खेलाडी घोषित भएका आयोजक त्रिवेणी खेलकुद समितिका प्रदिप कटेलले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
यस्तै उत्कृष्ट लिब्रो कोशी प्रहरीका युगल मगर, उत्कृष्ट सटर आयोजकको जितेश राई, उत्कृष्ट ब्लकरमा कोशी प्रहरीका ऋषि घिमिरे र उत्कृष्ट स्पाइकर आयोजकका रविन गौतम घोषित भए । उनीहरूले जनही नगद २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा कोशी प्रदेशका ६ टिमको सहभागिता रहेको त्रिवेणी खेलकुद विकास समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए ।

संगालोखबर 













