
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ मा दुर्घटनामा परेको मोटरसाइकलका घाइतेलाई उद्धार गर्न गएको प्रहरीले गाँजा बरामद गरेको छ । सोमबार राति करिब ९ बजे मोटरसाइकल दुर्घटना भएको खबर पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घाइतेको उद्धारसँगै गाँजा बरामद गरेको हो ।
प्रहरीले दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका-६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही स्थानका १९ वर्षीय गणेश कुमार मुखियालाई उद्धार गरेर उपचारका लागि रामधुनी मेडिकल हल पठाएको थियो ।
उनीहरू सवार प्र १-०४-००२ प २२४८ नम्बरको मोटरसाइकलमा रहेको दुई वटा झोलामा चेकजाँच गर्दा १७ किलो ९०६ ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
उपचारपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













