
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएपछि उत्पन्न तनाव हटाउनका लागि पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आज जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति जुटेको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
यस्तै छानबिन समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसारको राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ । मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने उल्लेख गरिएको छ ।
यसैगरी मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति भएको हो । सहमतिसँगै मृतकको शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ ।
सशस्त्रले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित भएका स्थानीयले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा समेत आक्रमण गरेका छन् ।



संगालोखबर 
















