
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु भएको छ । गएराति करिब १ः१० बजे तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको जनाइएको छ ।
गोली लागेर मृत्यु भएका साहको शव स्थानीयले उठाउन दिएका छैनन् । अहिले घटनास्थलमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
‘पीडित परिवार पक्षका मान्छेले निश्पक्ष अनुसन्धान गर्नुपर्ने माग राखेर वार्ता गर्नुभएको थियो’, डीएसपी खड्काले संगालोखबरसँग भने, ‘अन्य पक्षबाट वार्ता भड्काएर सडकमा प्रदर्शन भइरहेको छ । भीडलाई सम्झाउने काम भइरहेको छ ।’

संगालोखबर 
















