
धनकुटा । ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका धनकुटाको चौबिसे गाउँपालिका-३ का ६२ वर्षीय भीमबहादुर तामाङ १६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई मोरङको केराबारी गाउँपालिका-६ बाट आइतबार पक्राउ गरेको हो ।
जिल्ला अदालत धनकुटाले तामाङलाई २०६६ जेठ २३ गते १० वर्ष कैद सजाय तोकेको थियो । तर उनी फरार थिए । धनकुटा प्रहरीका इन्स्पेक्टर किशोर तामाङका अनुसार भीमबहादुर आफ्नो नाम तथा पहिचान परिवर्तन गरेर लुकिछिपी बस्दै आएका थिए ।
‘ज्यान मुद्दामा कैद सजाय तोकिए पनि फरार रहेका तामाङ आफ्नो नाम र पहिचान नै परिवर्तन गरेर बसेका रहेछन्’, इन्स्पेक्टर तामाङले संगालोखबरसँग भने, ‘आफन्तहरू त्यतै भएकाले उनी केराबारीमै बस्दै आएका रहेछन् ।’
उनले मेघबहादुर तामाङको नामबाट नागरिकता बनाएर आफ्नो असली परिचय बदलेको खुलेको इन्स्पेक्टर तामाङले जानकारी दिए । उनले २०५७ कात्तिक १२ गते साँझ ७ बजे चौबिसे गाउँपालिका-४ (साविकको कुरुले तेनुका-८) का ५७ वर्षीय टंकप्रसाद पौडेललाई कुटपिट गरेर तमोर नदीमा फ्याँकेर हत्या गरेका थिए ।
‘तामाङ, मादक पदार्थ सेवन गरेर पोखरेललाई कुटपिट गरि तमोर नदीमा फ्याँकेर हत्या गरि फरार भएका व्यक्ति हुन्’, उनले भने, ‘पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ ।’
यसैगरी ज्यान सम्बन्धी कसुर मुद्दामा ५ महिना ७ दिन कैद र ५ हजार जरिवाना तोकिएका धनकुटा-७ का ४० वर्षीय माइला भनिने लोकबहादुर भण्डारी पक्राउ परेका छन् । उनलाई अदालतले २०८१ असार १४ गते कैद र जरिवानाको फैसला सुनाएको थियो ।
यस्तै छथर गाउँपालिका-५ का ४१ वर्षीय लक्षु शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ । २०८१ मंसिर ४ गते जिल्ला अदालत धनकुटाबाट लागूऔषध मुद्दामा ५ हजार ५ सय जरिवाना तोकेको भएपनि उनी फरार थिए ।
चौबिसे गाउँपालिका-४ का ५९ वर्षीय नगेन्द्र बहादुर तामाङ पनि पक्राउ परेका छन् । बिना इजाजत वन पैदावार हानी नोक्सानी पुर्याएको मुद्दामा अदालतले २९ हजार तीन सय ३३ रुपैयाँ ३३ पैसा जरिवाना तोकेपनि उनी फरार थिए ।

संगालोखबर 
















