
विराटनगर । मोरङको जहदा गाउँपालिका-२ तारिगामा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । शनिबार राति करिब १०ः३० बजे गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले गाँजा ओसार-पसार भइरहेको जानकारी पाएको थियो । भारतीय सिमाना नजिकै रहेको सो क्षेत्रमा प्रहरी पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसार-पसार भइरहेको थियो ।
प्रहरीलाई देख्नेबित्तिकै ओसार-पसारमा संलग्नहरू गाँजाको बोरा फ्याँकेर हिँडेका थिए । सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिन ठूलो चाइनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको जनाएको छ ।
प्रहरीले हवाई फायर गरेर भारतको अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनीहरूलाई गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
‘गाँजा ओसार-पसार गर्दै गरेका उनीहरू भागेपछि नियन्त्रणमा लिन हवाई फायर गरिएको हो’, डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘दुबै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी छ । थप अनुसन्धान भइरहेको छ ।’

संगालोखबर 













